नेपाली समय Loading...२०७८ बैशाख २६ आईतवार

वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० मा जातको प्रश्न

काठमाडौं : टेलिभिजन संवाद कार्यक्रम ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को उत्कृष्ट ३०मा छनोट भएको छ।

 ‘वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ः एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा समता फाउण्डेशनले निर्माण गरेको ‘जातको प्रश्न’ विश्वका ११४ देशका ४२५ कार्यक्रमबाट उत्कृष्ट ३०मा छनोट भएको हो।

कोभिड १९जस्तो संकटको समयमा विधीको शासनको सुरक्षा र सम्बद्धन गर्ने असल अभ्यास तथा प्रभावकारी अभियान र नीतिको पहिचान, सम्मान र प्रवद्र्धन गर्नका लागि वर्ल्ड जस्टिस प्रोजेक्टले वार्षिक रूपमा यो विश्वव्यापी प्रतिस्पर्धा आयोजना गर्ने छ।

सन् २००६ मा अमेरिकन बार एसोसिएसनको अभियानका रूपमा स्थापना गरिएको वर्ल्ड जस्टिस प्रोजेक्ट सन् २००९ देखि विधीको शासन प्रवर्द्धन गर्ने गैरनाफामुखी संस्थामा रूपान्तरण भएको हो। संस्थाको कार्यालय वाशिङ्टन डिसी, सियाटल, सिंगापुर र मेक्सिको सिटीमा छ।

कोभिड १९ र बन्दाबन्दीको विषम परिस्थितीमा समता फाउण्डेशनले टेलिभिजन कार्यक्रम जातको प्रश्न निर्माण गरेको हो। अभिनेता राजेश हमालले सञ्चालन ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो।

पित्तृसत्ताको वर्चश्व भएको जात व्यवस्था, जातीय विभेद र जातकै आधारमा हुने छुवाछुतविरूद्ध परिवार र समुदायस्तरमै संवाद होस् भन्ने उद्देश्यले निर्माण गरिएको ‘जातको प्रश्न’ले विश्व मञ्चमा प्रशंसा बटुल्नु नेपालको विकास, न्याय र समृद्धिका हिमायतीका लागि गौरवको विषय समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले बताए ।

‘जातको प्रश्नले सामाजिक न्यायको नेपाली भाष्यमा नयाँ बहस सुरू गरेको छ,’ कार्यकारी अध्यक्ष परियारले भने, ‘संरचनात्मक लाभ, निर्वाचन क्षेत्रको आरक्षण र दलित महिलाको प्रतिरोधका विषय अहिले नेपाली संकथनमा प्राथमिकता बनेको छ। जसको उत्तर अझै खोजी भइरहेको छ।’

जातको प्रश्नले समावेशी समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, न्याय प्रणाली र न्याय निरूपण, राजनीतिक सहभागीता र प्रतिनिधित्व, विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताको अभ्यासबारे प्रश्न उठाएको समता फाउन्डेसनले जनाएको छ।

जातको प्रश्नले दिलाएको यो सफलताले हामी अझ उत्साहित भएका समता फाउण्डेसनले जनाएको छ। सामाजिक न्यायका लागि प्राज्ञिक बहसको यात्रा निरन्तर जारी बताउँदै फाउन्डेसनले यो यात्रामा साथ, सहयोग र सहकार्य गर्नुहुने सबै सहयात्रीप्रति धन्यवाद पनि दिएको छ।

सामाजिक न्याय र समतामूलक समाज निर्माणमा युवाको सिर्जनात्मक र अर्थपूर्ण भूमिका प्रोत्साहन गर्दै ज्ञान निर्माणमा लागि पर्ने प्रतिबद्धता समता फाउण्डेसन  गरेको छ।

प्रतिक्रिया दिनुहोस्